आरति साहका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय घेर्छौं : सभापति साह
लेखक: बि.एम.एन. न्यूजकाठमाडौँ- महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले स्व. आरति साहका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय र संसद्को बेल घेराउ गर्न बाध्य हुने चेतावनी दिएका छन्।
बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले घटनामा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी र डिएसपी संलग्न रहेको देखिएको भन्दै उनीहरूमाथि कारबाही प्रक्रिया अघि नबढाए संसद्भित्र छलफलको विषय बनाएर सांसदहरू गृहमन्त्रालय घेराउ गर्ने र संसद्को बेल घराउन गर्न बाध्य हुने बताएका छन्।
उनले हिरासतमा लिइएका व्यक्तिलाई यातना दिने काम प्रहरी प्रशासनले गरेको पाइएको भन्दै प्रशासन नांगै नाच्ने कुरा अकल्पनीय र दुःखदायी भएको बताए।
उनले भने, ‘पीडितले आफैं कानको जाली फुटाउने र आफैं गुप्तांगमा कुनै सामान हालेर त्यस्तो ब्लडिङ कदापि गर्न सक्दैन। आरति साह मरिसकेको अवस्था छ, त्यो अवस्था हुनु भनेको दुःखद हो। आरतिका आमाबुवा, मामा, बहिनीलाई हिरासतभित्र राखेर त्यस्तो यातना दिएको छ। प्रशासन नांगै नाच्छ भने यो त धेरै अकल्पनीय कुरा हो। दोष एसपी र डिएसपीको देखिएको छ। कारबाही अघि बढाएन भने हामी सांसदहरू गृहमन्त्रालय र संसदभित्र बेल घेर्न तयार छौँ।’
समितिको बैठकमा गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईले आरति साह मृत्युप्रकरणका दोषी कोहीलाई पनि सरकारले नछोड्ने बताए। उनले अदालतले दोषी देखाए जो कोही पनि कारबाहीको दायरामा आउने बताए। उनले सरकारले अनुसन्धानमा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता जनाए। उनले प्रहरीले ज्यादती गरेको ठहरिए ती प्रहरीहरूको निलम्बन गर्न सरकार पछि नहट्ने पनि बताए।
उनले भने, ‘यो घटना आत्महत्या हो कि हत्या हो भन्ने विषयमा प्रहरी कार्यालय र पीडितबीचमा केही समय छलफल भएको देखिन्छ। अहिले मृतकका श्रीमान् र ससुरा पुर्पक्षका लागि थुनामा हुनुहुन्छ। अनुसन्धानबाट गल्ती देखियो भने गल्ती गर्ने प्रहरीलाई संरक्षण गर्दैनौँ। डिएसपीको सरुवा गरिसकेका छौँ, आवश्यक परे एसपीको पनि सरुवा गर्न सकिन्छ।’
उनले पीडित पक्षलाई घटनास्थलमै गएर अनुसन्धानमा सघाउन अनुरोध गर्दा नमानेकोप्रति दुःख व्यक्त गरे। जनकपुरधाम उपमहानगर–९ थापाचोककी आरति साह ७ जेठमा आफ्नै घरमा मृत भेटिएकी थिइन्। सो घटनामा प्रहरीले उनका श्रीमान मोतीबाबु र ससुरा मदनमोहनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। माइती पक्षले आरतिको हत्या गरिएको भन्दै छानबिनको माग गर्दै आएका छन्।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?