काठमाडौं- डिफेन्डिङ च्याम्पियन भारतले दक्षिण एसियाली फुटबल महासंघ साफ यु-१९ च्याम्पियनसिपमा साविक विजेता भारतले विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न प्रतियोगिताको उद्धघाटन खेलमा भारतले गत संस्करणको उपविजेता बंगलादेशलाई ३-० ले हराएको हो।
पहिलो हाफमा २-० गोल अन्तरको अग्रता बनाएको भारतले दोश्रो हाफमा थप १ गोल गर्यो।फरवार्ड ग्वामसर गोयरेले खेल सुरु भएको ३३ सेकेन्डमै गोल गरेका थिए।
कप्तान इसान सिसोडियाको क्रसलाई बंगलादेशका डिफेन्डरले क्लियर गर्न नसक्दा त्यसको फाइदा उठाउँदै गुमसरले सहज गोल गरेका थिए।
भारतले पहिलो हाफको इन्जुरी समयमा अग्रतालाई दोब्बर बनायो। विपक्षी डिफेन्डरको गल्तीको फाइदा उठाउँदै नोबा मेटेइले दोस्रो बारमा गरेको प्रहार गोलमा परिणत भएको थियो।
निर्धारित समय सकिन एकमिनेट बाँकी छँदा भारतले थप एक गोल गर्यो। कप्तान इसानको क्रसमा पेनाल्टी बक्स भित्र निगरानीमा नरहेका अर्जुन सिंह ओनामले सहज गोल गरे।जितसँगै भारतले समूह ‘बी’ मा स्पष्ट तीन अंक जोडेको छ।
गत वर्ष भुवनेश्वरमा भएको सिंगल राउन्ड रोबिनमा आयोजना भएको साफ च्याम्पियनसिपमा बंगलादेश र भारतको समूह चरणमै भेट भएको थियो। उक्त भेटमा बंगलादेशले घरेलु टोली भारतलाई बंगलादेशले २-१ गोलअन्तरले पराजित गरेको थियो। यद्यपि, श्रीलंका, माल्दिभ्स र भारतलाई पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान पक्का गरेको थियो। नेपालसँग भने बंगलादेश १-१ गोलको बराबरीमा रोकिएको थियो।
फाइनलमा भने भारतले पुनरागमन गर्दै ५-२ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो। यता, भारतले समूह चरणमा श्रीलंका, नेपाल र माल्दिभ्सलाई पराजित गरेको थियो। अब भारतले समूह चरणको दोस्रो खेल भुटानसँग शनिबार खेल्नेछ।
सेमिफाइनलमा स्थान बनाउन भारतलाई अब भुटानविरुद्ध बराबरीको नतिजा पर्याप्त हुनेछ। बंगलादेश भने आफ्नो दोस्रो खेलमा दबाबमा हुनेछ। शनिबार भुटानविरुद्ध हार ब्यहोरे बंगलादेश प्रतियोगिताबाट बाहिरिनेछ। दोस्रो खेलमा आयोजक नेपालले साढे पाँच बजे पाकिस्तानको सामना गर्दैछ।
समूह 'ए' मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन्। त्यस्तै समूह 'बी' मा भारत, भुटान र बंगलादेश छन्।