काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शिक्षकहरूका जायज मागलाई सम्बोधन गर्नुपर्ने बताएका छन्।
शुक्रवार नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आन्दोलनरत शिक्षकका उपयुक्त र जायज माग सम्बोधन गर्नुपर्ने बताएका छन्। उनले संविधानले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएको भन्दै स्थानीय तहले उक्त जिम्मेवारी पूरा गर्न सक्नेमा आशंका व्यक्त गरे।
उनले स्थानीय तहले शिक्षण संस्थाको उन्नति र प्रगतिभन्दा आफ्ना मान्छे नियुक्त गर्न मात्रै प्रयोग गर्ने हो कि भन्ने आशंकाका कारण प्रश्न उठिरहेको बताए। यद्यपि संविधानले दिएको अधिकारलाई अहिले नै परिवर्तन गर्न नसकिने उनको भनाइ छ। वार्ता र छलफलबाट तत्कालै सम्बोधन गर्न सकिने कुरालाई सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए।
उनले भने, ‘माध्यमिक तहको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ। यो जिम्मेवारी के स्थानीय तहले पूरा गर्न सक्छन्रु शिक्षण संस्थाको उन्नति र प्रगतिभन्दा पनि त्यसलाई कसरी उपयोग गर्ने भन्ने कुरामा मात्रै सीमित रहने कुरा पनि सोच्न सक्ने स्थिति बन्छ। सडकमा उत्रिएका शिक्षकहरूका जायज मागलाई छलफल, वार्ता गरेर यो समस्याको समाधान निकाल्नु आवश्यक छ।’
अध्यक्ष नेपालले देशमा संकटको बादल मडारिएको बताए। उनले गठबन्धनमा आबद्ध पार्टी र नेताहरू अनुभवी रहेका भन्दै नेताहरू एक ठाउँमा बसेर छलफल गरी समस्या समाधान गर्न सक्ने बताए। उनले देशको समस्याको समाधान सबैभन्दा बढी कम्युनिष्ट पार्टीले मात्र दिनसक्ने उल्लेख गरे। कम्युनिस्ट पार्टीसँग वैज्ञानिक दृष्टिकोण भएको कारण समस्याको समाधान गर्नसक्ने उनको भनाइ छ।
उनले देशलाई समृद्ध बनाउन पर्यटन प्रवर्धनमा जोड दिनुपर्ने बताए। त्यसैगरी नेपाली उद्योगी, व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्ने उनको कथन छ।