काठमाडौं- गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका छन्।आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा एक सांसदले सुन तस्करी प्रकरणको अनुसन्धानप्रति आशंका व्यक्त गर्दै मन्त्रीको जवाफ माग गरेपछि मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
उनले सिआइबीलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न आफूले निर्देशन दिएको भन्दै उनले अनुसन्धानमा कुनै प्रकारको हस्तक्षेप नभएको स्पष्ट पारे। उनले तथ्य, प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढंगले निष्कर्षमा पुर्याउन प्रहरीलाई कडा निर्देशन दिएको उल्लेख गरे। उनले सुन तस्करी प्रकरणको अनुसन्धान खुला रहेको भन्दै आगामी दिनमा पनि हस्तक्षेप बेगर अगाडि बढ्ने बताए।
उनले भने ‘सिआइबीलाई आफ्नो सम्पूर्ण स्वतन्त्रतासहित आफ्नो सम्पूर्ण कार्यक्षमता प्रदर्शन गर्न र गहिराईमा पुग्न गृह प्रशासनको तर्फबाट मैले बारम्बार निर्देशन दिएको छु। सिआबिले अनुसन्धान खुला पनि राखेको छ। कतिपय हामीलाई पनि अलि पहिले नै स्टेप चालेको भए हुन्थ्यो भन्ने हामी राजनीतिक नेतृत्वलाई लाग्दालाग्दै पनि सिआइबिले आफ्नो प्रक्रिया अन्तर्गत अगाडी बढाउने सन्दर्भमा व्यावसायिक रुपमा केही कुरा भनिराखेको छ। त्यो आफ्नो ठाउँमा छ। तर म दृढतापूर्वक भन्न चाहन्छु, सिआइबि वा कुनै पनि प्रहरी संरचनालाई, संयन्त्रलाई अनुसन्धान गर्ने क्रममा कुनै हस्तक्षेप गरिँदैन।
गृहमन्त्री श्रेष्ठले सर्लाही घटनालाई सरकारले गम्भिरतापूर्वक लिएको बताए। सर्लाहीको मलंगवा वडा नम्बर ३ मा गणेशको मूर्ति सेलाउने क्रममा हिन्दु युवाहरुमाथि सांघातिक हमला भएको थियो। त्यहाँको समस्या समाधान गर्न आफूले जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग कुरा गरिहेको उल्लेख गर्दै आवश्यक परेमा एक, दुई दिनमै नयाँ निर्णय लिइने बताए।