काठमाडौं- चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन्।
मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले बुधवार माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका हुन्।
स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएर विरोध जनाएका हुन्। स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग राखेका छन्।
विरोध प्रदर्शनका क्रममा सञ्चराकर्मीहरुसँग कुरा गर्दै आन्दोलनरत चिकित्सक शेषराज घिमिरेले सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर कारबाही गर्न माग गरे। उनले सरकारले पक्राउ गरी कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने बताए। दोषीलाई संरक्षण गर्नु नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदासमेत राज्य मूकदर्शक बन्न नहुने बताए।
उनले भने, ‘सहमति धेरै भइसक्यो, एक्शन हामीलाई चाहिँदैन। यो धेरै भइसक्यो। पक्राउ गर्नुस् हामी मान्छौँ। नत्र सकेनौँ भन्नुस्, हात उठाउनुस्। जबसम्म पक्राउ गरेर मुद्दा चल्दैन, हामी आन्दोलनमा नै हुन्छौँ। यो राज्यको कमजोरी हो, कानूनी राज्य भएको भए घटना भए लगत्तै पक्राउ जरी जेलमा जान्थे। यहाँ त घटना दोहोरिँदा पनि कारबाही छैन। दोषीलाई संरक्षण गर्नु हुँदैन। राज्य टुलुटुलु हेरेर बसेको छ।’
आन्दोलित चिकित्सकहरुले विदेश पलायन हुन बाध्य नपार, हामी स्वास्थ्यकर्मी एक हौँ, आज डाक्टर कुट्ने भोलि बिरामी भए कहाँ जाने? असुरक्षा र त्रासमा उपचार कसरी गर्ने ?कामेको हातले उपचार सम्भव छैन, सेतो कोट रातो भए समाज नै कालो हुन्छ, स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए।