काठमाडौं- विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यसविरुद्ध जागरुकता जगाउन हरेक वर्ष सेप्टेम्बर २८ मा विश्व रेबिज दिवस मनाइन्छ।
यो वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका लागि हो भन्ने कुरालाई प्रकाश पारेको छ। यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकीका रूपमा समेत मनाइन्छ। फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गरेका थिए।
ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि विश्व रेबिजविरुद्धको दिवसको रूपमा मनाउन थालेको थियो। पछि विश्व स्वास्थ्य संगठनले यो दिवसलाई समर्थन गरेको थियो।
नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । तर नेपालको सन्दर्भमा रेबिज चुनौती बन्दै गएको छ। अझै पनि ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गत आर्थिक वर्ष २०७९/८०को तथ्यांकअनुसार ७५ हजार ५६२ जनालाई कुकुर र नौ हजार नौ सय २१ जनालाई अन्य जनावरको टोकाइबाट बिरामी भएका थिए।
यस्तै आव २०७५/७६ मा ३२ हजार ८८२ जनालाई कुकुरले टोकेको थियो । यो सङ्ख्या क्रमशः बढ्दै गएर आव ०७७/७८ मा ५४ हजार ९९६ जना पुगेको थियो ।
गत आवमा दुई लाख ५० हजार, ‘एआरभी’ भायल खोप खपत भएको थियो। महाशाखाका अनुसार आव ०७०/७१ मा नेपालमा रेबिजका कारण १० जनाको मृत्यु भएको थियो।