काठमाडौं- आमा सुरक्षा नेपालले ललितपुरको गोदावरी नगरपालिका ५ मा गर्भवती महिलाका लागि स्वास्थ्य शिविर संचालन गरेको छ।
वडा कार्यालय तथा लेले प्राथमिक स्वास्थ्य केन्द्रसँग समन्वय गरी असोजको पहिलो शनिबार शिविर संचालन गरिएको हो । कार्यक्रममा आमा सुरक्षा नेपालको ब्याच वितरण कार्यक्रम सम्पन्न गरेको छ।
महिलाहरूको स्वास्थ्यको विशेष ख्याल राखी आमा र बच्चाको जोखिमलाई कम गर्ने उद्देश्यले कार्यक्रम सुरू गरिएको हो।
कार्यक्रम वडा कार्यालय प्रमुख मिलन सिलवालको अध्यक्षता र नगरपालिकाकी उपप्रमुख मुना अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो।
शिविरमा ३० जना महिलाको स्वास्थ्य जाँच गरिएको छ। गर्भवती महिला पहिलो प्राथमिकता भन्ने नाराका साथ आमा सुरक्षा नेपालले शिविर संचालन गरेको हो। कार्यक्रममा महिलाहरूलाई ब्याच र ब्याग पनि वितरण गरिएको थियो।
सार्वजनिक यातायातमा गर्भवती महिलालाई प्राथमिकता दिन आग्रह गर्दै सवारी चालक र सहचालकलाई पनि ब्याच वितरण गर्नुका साथै स्टिकर र पेनड्राइभमा चेतनामुलक अडियो वितरण गरिएको संस्थाले जनाएको छ।
गोदावरी नगरपालिका ९ छम्पीस्थित वडा कार्यालय तथा छम्पी देवी प्राथमिक स्वास्थ्य केन्द्रसँग समन्वय गरी असोजको दोस्रो शनिबार १३ गते महिलाका लागि निस्शुल्क स्वास्थ्य शिविर संचालन हुने पनि संस्थाले जनाएको छ।