काठमाण्डौ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले मुल्यवृद्धि नियन्त्रण गर्ने कोसिस नगरेको बताउनुभएको छ ।
आज बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले कोसिस नगरेको बताउनुभएको हो । उहाँले दैनिक उपभोग्य वस्तुको अन्धाधुन्ध रूपमा मूल्यवृद्धि भइरहेको बताउनुभयो । मूल्यवृद्धि हुनुपर्ने कुनै औचित्य नहुँदा पनि मूल्यवृद्धि भइरहेको भन्दै उहाँले यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । मूल्यवृद्धि नियन्त्रणको सम्बन्धमा आफ्नो पार्टीले संसद् चल्दा संसदमा आवाज उठाइरहेको र संसद् नहुँदा पनि विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अन्धाधुन्ध रूपमा मूल्यवृद्धि भइरहेको छ, त्यसलाई नियन्त्रण गर्ने सरकारको राम्रो प्रयत्न भइरहेको देखिँदैन । अन्धाधुन्ध भाउ एकैचोटि बढाउने । कुनै औचित्य छैन त्यसमा । थोरै थोरै बढाउनु त एउटा कुरा होला । त्यो बढाउँदा पनि कहीँ छलफल गर्नुपर्ने होला । तर जसरी आफ्नो हिसाबले बढाउने काम भइरहेको छ, यस सन्दर्भमा सरकारको ध्यान हामी पनि आकर्षित गराउन चाहन्छौँ ।’
अध्यक्ष नेपालले माइतीघर मण्डलामा आन्दोलनरत शिक्षकहरूको न्यायोचित र जायज माग पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले आवश्यक कुराहरू विधेयक संशोधन गरेर वा नीतिमा मिलाएर शिक्षकहरूलाई न्याय दिनुपर्ने बताउनुभयो ।