विराटनगर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देशको समस्यालाई असरल्ल छाडेर लामो विदेश भ्रमणमा रमाएको भन्दै आलोचना गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले १७ दिन संसद बैठक रोकेर प्रधानमन्त्री लामो विदेश घुम्न निस्कनु कुनै पनि हिसाबले सोभनीय हुन नसक्ने बताए ।
‘संसद १७ दिनसम्म स्थगित गरेर प्रधानमन्त्री घुम्न निसकनु भएको छ । दुई साताको प्रधानमन्त्रीको भ्रमण भनेको यो साधारण होइन, कार्यकारी सरकार प्रमुख त्यस्तो फुर्सदिलो हुने शोभनीय कुरै होइन’, ओलीले भने । उनले सत्ता साझेदार दल नेपाली कांग्रेसमा देशप्रतिको चिन्ता नभएको भन्दै तत्काल सरकार परिवर्तनको सम्भावना आफूले नदेखेको पनि बताए । ‘कांग्रेसमा देशप्रतिको चिन्ता छैन । उ बेग्लै संसारमा छ’, ओलीले भने ।
ओलीले गठबन्धन सरकार चल्न नसकेको भन्दै वर्तमान सरकारले देशका लागि केही दिन नसकेको बताए । ‘यो सरकार अपराधीको संरक्षकको रुपमा, सुन तस्करको संरक्षकको रुपमा देखियो । यसले नेपाली जनता र राष्ट्रलाई केही पनि दिएन’, ओलीले भने, ‘यो सरकार रहनु देशका लागि दुर्भाग्य हो ।’
ओलीले पार्टी सरकारमा जान इच्छुक नरहेको र वर्तमान सरकार ढल्ने उपयुक्त आधार पनि नदेखिएको बताए ।
कोशी प्रदेश अधिवेशनको उद्घाटनका लागि विराटनगर आएका ओलीले सकेसम्म सहमतिमा र नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुने बताए ।