पर्वत- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस बनाउन नयाँ पुस्ताका नेताहरू परिवर्तन भएर लाग्नुपर्ने बताएका छन्।
‘अब ७८ वर्ष भएका शेरबहादुर देउवा (सभापति जी) लाई परिवर्तन गर्छु र कांग्रेस बनाउँछु भन्ने भन्दा पहिले ५९ वर्षको सुरेन्द्र पाण्डे, ४६ वर्षका गगन थापा र ३८, ४० का अन्य नेता अझै धेरै परिवर्तन हुनुपर्यो।’ नेपाली कांग्रेस गोरखा नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा उनले भने।
सम्मेलनमा बोल्ने नेता कार्यकर्ताहरूले स्थानीय तहको निर्वाचन, टिकट वितरण लगायतको कुरा गरेपछि मुख्यमन्त्री पाण्डेले अर्को चुनाव आउने बेलासम्म पनि विगतको निर्वाचनको टिकटको कुरा गरेर रोइकराई गर्न नहुने बताए। ‘अर्को चुनाव आउने बेला भइसक्यो, तीन वर्षपछि अर्को चुनाव हुन्छ, हामी हिजोको टिकट किन छुट्यो भने रोइकराई गरिरहेका छौँ, यो कहिलेसम्म गरिरहने?’
यही रोदनमा हुने हो भने अर्कोपटक पनि चुनावको टिकट छुट्न सक्ने बताउँदै उनले आगामी निर्वाचनमा कसरी टिकट लिने र जित्ने भन्नेतर्फ लाग्न सुझाव दिए। ‘हिजो भएको हाम्रा कमी कमजोरीलाई ‘करेक्सन’ गरेर अघि बढ्ने हो’ उनले भने।
प्रत्येक नेता कार्यकर्तालाई आफूभन्दा माथिल्लो तहका नेताले केही गरेनन् भन्ने लाग्ने गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले केन्द्रीय सदस्य एवं मुख्यमन्त्री पाण्डेले भने ‘आफू मात्र असल देख्ने हाम्रो प्रवृत्ति खराब छ, हरेकले खराब प्रवृत्ति बदल्यौँ भने को खराब, को असल भनेर अलमलिनु पर्दैन।’
वडा सभापतिदेखि केन्द्रीय सभापतिसम्मको अधिकार विधानमा लेखिएको बताउँदै उनले हरेक नेता कार्यकर्ताले आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने कांग्रेसको सङ्गठन सुदृढीकरण र विस्तार हुने बताए।
गाउँघरमा हुने विकास आयोजनामा सहभागिता जनाउने, नेतृत्व गर्ने, जनतासँगको सम्वाद बाक्लो बनाएमा सङ्गठन विस्तार गर्न सकिने उनले बताए। गाउँमा रहेका मानिस रोजगारीको अभावले बसाइँ सर्ने गरेको उल्लेख गर्दै उनले भने, ‘गाउँ सहर जता बसेका मानिस भए पनि हामीले उत्पादन र रोजगारीसँग जोड्न सकेनौँ भने बढ्दो क्रममा रहेको बसाइसराइँको डरलाग्दो स्थिति रोक्न सकिँदैन।’
गण्डकी प्रदेश सरकारले उत्पादनको क्षेत्रमा लगानी बढाइरहेको र त्यसमा सहभागी हुन उनले अनुरोधसमेत गरे।
प्रदेश सरकारले प्राथमिकताका आधारमा बजेट विनियोजन गरेको बताउँदै उनले यस वर्षको वार्षिक विकास कार्यक्रममा ३० लाखभन्दा कमका सडक योजना, १० लाखभन्दा कमका सिँचाई, खानेपानीको योजनामा बजेट विनियोजन नगरिएको बताए।
‘देखिने गरी विकास गर्न, सुरु भएका योजना समयमै सम्पन्न गर्न प्राथमिकता र आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको छ’ उनले भने ‘भवन निर्माण जस्ता अनुत्पादक क्षेत्रमा नयाँ योजना छुटाएका छैनौँ, हाम्रो प्राथमिकतामा यो छैन।’
भोटका लागि स–साना टुक्रे योजना, सामूहिक भन्दा पनि व्यक्तिगत योजना धेरै आउने गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले मुख्य, मुख्य योजना छिटो गर्ने नीति प्रदेश सरकारको रहेको बताए।