काठमाडौं- काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाण्डौ महानगरपालिकाले भोलिदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’ मनाउँदैछन् । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह मनाउन लागेको ट्राफिक प्रहरीले जनाएको छ ।
राष्ट्रिय सभा गृहमा औपचारिक कार्यक्रम गरेर ट्राफिक सप्ताहको शुरू हुने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यक्रमको उद्घाटन उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्नुहुनेछ ।
साताव्यापी कार्यक्रममा चालक, परिचालक, पैदलयात्री, विद्यार्थी र समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक चेतनामूलक कार्यक्रमहरू गरिने कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।
काठमाण्डौ उपत्यकामा धेरैजसो सवारी दुर्घटना तीव्र गति, ट्राफिक संकेत वा इशाराको उल्लंघन, जाँडरक्सी खाएर गाडी चलाउने जस्ता चालकको लापरबाहीका कारण हुने गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।