काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दुई जना उपप्रधानमन्त्रीसँग ब्रिफिङ लिएका छन्।
झन्डै आधा महिना लामो अमेरिका र चीन भ्रमण सकेर आज स्वदेश फर्केका प्रधानमन्त्री प्रचण्डले अहिले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्कासँग ब्रिफिङ लिइरहेका छन्।
आजै साँझ अर्का उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि यसबीचमा भएका गतिविधिबारे जानकारी लिने कार्यक्रम रहेको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
गृहमन्त्री आन्दोलनरत चिकित्सकसँगको वार्तामा बसेकाले बालुवाटार पुग्न ढिलाइ भएको उनले थाहा खबरलाई बताए। भोलि संसद् बैठक बस्दैछ। मल्लकाअनुसार प्रधानमन्त्री प्रचण्डले एक दुई दिन पछि अमेरिका र चीन भ्रमणबारे संसदमा पनि जानकारी गराउनेछन्।
त्यसैगरी सुन प्रकरणमा असोज ५ गते गठन गर्ने भनिएको उच्चस्तरीय छानबिन आयोगबारे पनि पहिले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका नेतासँग भेट्ने मनस्थितिमा प्रधानमन्त्री प्रचण्ड छन्।
आफू विदेशमा हुँदा भएको शिक्षक आन्दोलन र सहमतिबारे पनि जानकारी लिनेछन्।