गुल्मी- गुल्मीमा सवारी दुर्घटना न्यूनीकरण गर्न राखिएका सडक ऐना आफैँ दुर्घटना परेका छन्।
गुल्मीको मुख्य सडक रिडी तम्घास सडक अन्तर्गत सडक दुर्घटना न्यूनीकरण गर्न राखिएका १४ वटा सडक ऐनाहरू मध्ये ११ वटा सडक ऐना दुर्घटना परेका छन् भने तीन वटा मात्रै सकुशल छन्।
११ वटा ऐना मध्ये केही फुटेका छन् भने केहीको नाम निसाना नै छैन। सडक डिभिजन कार्यालय पाल्पाले तम्घास–रिडी सडकमा आर्थिक वर्ष २०७२/७३ को आर्थिक वर्षमा १४ स्थानमा सडक ऐना राखेको थियो। कुनै ऐना राखेको हप्ता दिन नबित्दै हराए भने कुनै महिना दिनमै गायव भएका थिए। तत्कालीन समयमा तीन लाख ९२ हजार रूपैयाँ लागतमा जडान गरिएका ऐनाको संरक्षण नहुँदा लगानी यसै खेर गएको हो। तत्कालीन समयमा एउटा सडक ऐनाको मूल्य २८ हजार रहेको थियो।
नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले सरकारी सम्पत्तिको पनि आफ्नो सम्झेर संरक्षण गर्नु आम नागरिकको दायित्व भएको बताए। पछिल्लो समयमा नागरिकहरू अराजक भएका कारण यस्तो अवस्था अवस्था आएको उनको तर्क छ।
गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले दुर्घटना न्यूनीकरण गर्न राखिएका सडक ऐना आफैँ दुर्घटनामा पर्नु दुःखद भएको भन्दै बाँकी रहेका ऐनालाई संरक्षण गर्न आफूहरू लाग्ने बताए।
जिम्मेवारीबाट पन्छिँदै कार्यालय
सडकमा राखिएका सडक ऐना संरक्षण नहुनु , तोडफोड र गायव हुनु दुःखद भएको सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख बाबुराम सापकोटाले बताए। हाल सो सडक मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने भएकाले त्यसको व्यवस्थापन सो कार्यालयले गर्नुपर्ने उनको तर्क छ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासका प्रमुख माधव अधिकारीले पहिले सडक साँघुरो हुँदा दुर्घटना बढी हुने भएकाले सडक ऐना आवश्यक भएको बताए। सडक चौडा पार्ने क्रम जारी रहेकाले सडक ऐनाको आवश्यकता कम पर्ने उनको तर्क छ। रिडीदेखी भेडुवासम्म मदन भण्डारी राजमार्ग अन्तर्गत रहेको बताउँदै त्यस सडक यता तम्घाससम्म भने सडक साँघुरा भएकाले सडक ऐनाको आवश्यक पर्ने र आफूहरू अन्तर्गत सो सडक नरहेको उनको भनाइ छ।