पर्वत- अविरल वर्षाका कारण जमिन गलेपछि जिल्लाको फलेवास नगरपालिका–९ भंगरामा एक घर भत्किएर पूर्ण रुपमा क्षति भएको छ।
भँगरा स्थित सिरुवारिका ६६ वर्षीय बोमप्रसाद भुसालको घर बुधबार बिहान पौने नौ बजेको समयमा भत्किएको हो।
घरसँगै जोडिएर रहेको कोठा जोगिएको भए पनि घरको मुख्य भाग भने पूरै भत्किएको पीडित भुसालले बताए। घरभित्र मानिस नभएको बेलामा भत्किएकाले मानवीय क्षति भने हुन पाएन।
भत्किएको भाग ‘किचन’ का रुपमा प्रयोग हुँदै आएको थियो। भुसाल दम्पती भत्किएर बाँकी रहेको सोही घरसँगै टाँसिएर बनेको कोठामा बसिरहेका छन्। वर्षा नरोकिएकोले भत्किएको घरमा रहेका सामग्रीहरू निकालेर सुरक्षित स्थानमा सार्न पनि समस्या भएको छ।
पानी रोकिएकै छैन। आज तीन दिन भयो। खाना खाने बेला नभएको हुनाले हामी बूढाबूढी भाग्यले जोगियौँ’, उनले भने, ‘वडामा र प्रहरीमा खबर गरेपछि प्रहरी आएर हेर्नुभएको छ।’
देशभरि जस्तै पर्वतमा पनि सोमबार साँझदेखि निरन्तर रुपमा वर्षा भइरहेको छ। भारी वर्षा नभए पनि एक तमासले परेको वर्षाले जमिन गल्दा ठाउँ ठाउँमा साना ठुला पहिराहरू झर्ने क्रम सुरु भएको छ।