काठमाडौं- त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (इ.अ.सं.)बीईको प्रवेश परीक्षा बोर्डका सदस्यहरूले सामूहिक राजीनामा दिएका छन्। शुल्क विवाद भएकाले समयमा परीक्षा सञ्चालन गर्न नसकेपछि ७ जनाले राजीनामा दिएका हुन्।
राजीनामा दिनेमा अध्यक्ष प्रा.डा. सुशीलबहादुर बज्राचार्य, सदस्य सह-प्रा.डा. इन्द्रप्रसाद आचार्य, सदस्य सह-प्रा.डा. संजिवप्रसाद पाण्डे, सदस्य उप-प्रा.डा किरणचन्द्र दाहाल छन्।
यस्तै,सदस्य सचिव बिदुर दकाल, सल्लाहकार सहायक (परीक्षा) प्रा.डा. सुरज लामिछाने र प्राध्यापक डा. हिक्मतराज जोशी छन्।
असोज १५ गतेको डीनको हस्ताक्षर भएको पत्रानुसार शैक्षिक वर्ष २०८०/०८१ को स्नातक बीई बीईआर्क तहका विभिन्न कार्यक्रमहरूमा इन्जिनयरिङ अध्ययन संस्थानका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा विद्यार्थी भर्नाका लागि सूचना प्रविधिको आधारमा कम्प्युटर विधिबाट संचालन गरिने प्रवेश परीक्षाको फाराम असोज १७, १८ र १९ गते सम्म भर्ने समय थप गरिएको राजीनामा पत्रमा उल्लेख छ।
२०८०/०६/२२ गते देखि प्रवेश परीक्षा संचालन गर्नुपर्ने उल्लेखित पत्र अनुसार उक्त मितिमा आवेदन फाराम भराउन तथा परीक्षा संचालन गर्न नसकिने भएकोले त्रिवि इ.अ.सं.डीकाको च.नं १६५र०८०र०८१ मिति २०८०/०४/१८ को पत्रबाट गठन भएको प्रवेश परीक्षा बोर्डका हामी तपसिलका अध्यक्ष, सदस्य, तथा सल्लाहकारहरूको संयुक्त राजीनामा पेस गरेका छौँ,’मंगलबार पेश भएको राजनीनामा पत्रमा उल्लेख छ।
बीईको प्रवेश परीक्षा पुन: स्थगित
प्रवेश परीक्षा बोर्डका सदस्यहरूले राजीनामा दिएसँगै बीईको प्रवेश परीक्षा पुनस् स्थगित भएको छ। त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले सहमतिअनुसार स्नातक (बीई र बीईआर्क)को प्रवेश परीक्षा असोज २२ गते सञ्चालन गर्ने भनेको थियो।
तर,संस्थानअन्तर्गतका शिक्षक र कर्मचारी,प्रवेश परीक्षा बोर्डका सदस्यहरूको राजीनामा र अर्कातर्फ विद्यार्थी संगठनहरूको आन्दोलन कायमै रहेपछि प्रवेश परीक्षा स्थगित भएको हो। त्रि.वि. इन्जिनियरिङ्ग अध्ययन संस्थान डीन कार्यालयका शाखा अधिकृत निरजकुमार वैद्यले प्रवेश परीक्षा बोर्डका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएपछि प्रवेश परीक्षा स्थगित गरेको जानकारी दिए।
उनको हस्ताक्षरद्वारा जारी सूचनामा भनिएको छ,‘त्रि.वि. इन्जिनियरिङ्ग अध्ययन संस्थान डीन कार्यालय प्रवेश परीक्षा बोर्ड २०८०/०८१ का पदाधिकारीहरूले मिति २०८०/०६/१६ गते संयुक्त राजीनामा दिएको कारणले इ.अ.सं. डीन कार्यालयको मिति २०८०/०६/१६ को निर्णयानुसार प्रवेश परीक्षा २०८० सम्बन्धी कार्यक्रम अर्को सूचना प्रकाशित नहुन्जेल हाललाई स्थगन गरिएको ब्यहोरा आदेशानुसार सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’
प्रवेश परीक्षाका नयाँ कार्यक्रम सम्बन्धी सूचनाहरू प्रवेश परीक्षा बोर्डको वेवसाइट मार्फत जानकारी गराइने उक्त सूचनामा उल्लेख छ। त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले भदौ ५ गते इन्जिनियरिङको स्नातक तह(बीई)मा नियमिततर्फ शुल्क ३५ हजारबाट बढाएर ८२ हजार र पूर्ण शुल्कतर्फ ३ लाख ३० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्याइएको शुल्क सार्वजनिक गरेको थियो।
तर, उक्त शुल्क अस्वाभाविक रूपमा बढाइएको भन्दै यसको चौतर्फी विरोध भयो। विभिन्न विद्यार्थी संगठनहरूले विरोध गर्न थालेपछि इन्जिनियरिङ अध्ययन संस्थानले भदौ १९ पछिका सम्पूर्ण पुर्वप्रकाशित बीई/बिआर्कको परीक्षा तालिकाहरू अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरेको थियो।