काठमाण्डौ- बाँकेको नेपालगञ्जमा दिउँसोको समयमा कर्फ्यु हटेको छ । अस्तिदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु दिउँसोको समयमा हटाइएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना निकालेर बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्मका लागि नेपालगञ्ज क्षेत्रमा लगाइएको कर्फ्यु हटाएको जनाएको छ । बेलुका ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने कर्फ्यु कायमै रहेको सूचनामा उल्लेख छ । कर्फ्यु आंशिक रुपमा हटाइए पनि निषेधाज्ञा भने जारी छ ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो ।
कर्फ्यु आंशिक रुपमा हटेसँगै बाँकेको नेपालगञ्जको अवस्था सामान्य बन्दै गएको छ । हिजोरअस्तिको तुलनामा आज नेपालगञ्जमा चहलपहल केही बढेको छ । हिजो बसेको सर्वपक्षीय बैठकले कर्फ्यु खुकुलो बनाउँदै लगेर हटाउने निर्णय गरेको थियो ।
यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्तिसुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुन सबै पक्षलाई अपिल गरेको छ ।