काठमाण्डौ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ ।
बिहान सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा उहाँले थप राहत र पुनःस्थापनाका लागि समन्वयात्मक रुपले अझ जोड दिएर काम गर्न पनि निर्देशन दिनु भएको हो ।
उहाँले तत्काल पुग्नुपर्ने श्रोत र हुनुपर्ने व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक भूमिका निभाउन निर्देशन दिनुभयो । उहाँले सम्भावित विपद्जन्य घटनाको लागि पूर्व तयारी गर्नु र रहनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
प्रधानमन्त्री प्रचण्डले नेपाल उच्च भूकम्प जोखिम क्षेत्रमा पर्ने भन्दै कुनै पनि बेला कहीँ विपद्जन्य घटना हुनसक्ने भएकाले आवश्यक पूर्वतयारी गर्नुपर्ने बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले भोलि भूकम्पको केन्द्रबिन्दु बझाङको अवलोकन गर्ने र त्यसपछि थप कार्यक्रम अघि बढाउने तयारी छ ।