काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्ति गर्न आफ्नो पार्टीको केन्द्रीय सदस्य भएकाले सहज भएको बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले लामा नेकपा ९माओवादी केन्द्र० का सदस्य भएको र गुम्बा विकास समितिको अध्यक्ष हुनुका साथै एमाले र माओवादी पार्टीबाट पनि पटक पटक मन्त्री र सांसद भइसकेकाले पनि योग्य व्यक्ति भएको बताए।
‘उहाँ कसको प्रभावले भन्दा पनि बिना कसैको प्रभाव दबाब बिना खुशीले नियुक्ति गरेको हुँ । गिरिजाबाबुको पालामा उहाँ गुम्बा विकास समितिको अध्यक्ष भइसकेको मान्छे, एमालेको पालामा आएर संविधान सभाको सदस्य, पूर्वअर्थराज्यमन्त्री भइसकेको, माओवादीतिर आइसकेपछि पनि पटकपटक सांसद, भइसकेको मान्छे उहाँलाई लागेको आरोप राज्यका सबै अंगले प्रमाणित नगरेको र लागेको आरोप पुष्टि नभइसकेपछि मान्छे अभियुक्त हुँदैन । उनले भने‚‘अभियुक्त नभएकाले नेपालको कानुन बमोजिम नियुक्त गरेको हो । हाम्रो पार्टीको केन्द्रीय सदस्य भएकाले पनि नियुक्तिका लागि सजिलो भयो ।’
मन्त्री किराँतीले नेपाल वायुसेवा निगम ४८ अर्ब ऋणमा रहे पनि आफू मन्त्री बनेर आइसके पछि ४ अर्ब ऋण तिरिसकेको बताए। उनले अहिले निगमसँग १ अर्ब ६५ करोड रकम रहेको र त्यसले साना जहाज खरिद प्रक्रियामा लागेको बताए।
उनले इतिहासदेखि अहिलेसम्मको ऋण मुक्त हुने गरी निगम नाफामा नभए पनि आफू आइसकेपछि सञ्चालन खर्चमा नाफा भएको दाबी गरे।
उनले चिनिया जहाज अहिले पनि घाटामा रहेको बताए। उनले चिनिया जहाजमा पार्टपूर्जाको समस्या र पार्टपूर्जा लिन पनि वर्षौं लाग्ने गरेको भन्दै चिनिया जहाज घाटामा रहेको बताए ।
उनले रेष्टुरेण्ट र हवाई चलाउने ऐन नेपालमा एउटै रहेको भन्दै असन्तुष्टि व्यक्त गरे। मन्त्री किराँतीले युरोपियन युनियनको कालोसूचीबाट नेपाल चाँडै नै हट्नेमा आशावादी रहेको पनि बताए।