काठमाण्डौ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गुन्डा नाइके ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिने निर्णयमा सरकारको जवाफ माग्नुभएको छ ।
आज बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले गलत निर्णय भएकाले सरकारले त्यसको जवाफ दिनुपर्ने बताउनुभयो । आममाफीको मुद्दा सर्वोच्च अदालतमा पुगिसकेको र सदनमा पनि कुरा उठेकाले सरकारले जवाफ दिनुपर्ने थापाको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सरकारबाट यो गलत निर्णय भएको छ । आममाफी दिनुको कारण यहाँ उभिएर बताउनुपर्छ । निर्णय गरेर भाग्न पाइँदैन । कानुनी छिद्र प्रयोग गर्ने क्रम बढ्दो छ । अब कानुन फिर्ता लिनुपर्छ र संशोधन गरेर परिमार्जन गर्नुपर्छ ।’
मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको कसुरमा जेल परेका ‘रिगल’ को १२ वर्ष कैद सरकारले संविधान दिवसका अवसरमा माफी दिएपछि चौतर्फी विरोध भइरहेको छ । मानन्धरकी श्रीमती भारतीले सर्वोच्चमा रिट दिनुभएको छ ।
‘रिगल’ विरुद्ध २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।
उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर संविधान दिवसको अवसरमा गएको ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि ‘रिगल’ कैदमुक्त भएका थिए ।