काठमाडौं- सांसद गंगाराम चौधरीले पछिल्लो समय क्याम्पसहरूमा विद्यार्थीहरूको भीडभाड हुनुपर्ने बेला विदेशका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीडभाड देखिएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा उनले स्नातक तहमाथि कक्षाहरूमा विद्यार्थीहरूको संख्या न्यून भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले स्नातक तहमाथि ५० प्रतिशत विद्यार्थी संख्या घटेको बताए। ‘क्याम्पसमा विद्यार्थीहरूको घट्दो क्रम जारी छ,प्लस टु सम्म विद्यार्थीहरूको संख्या सन्तोषजनक छ, तर मेरो अध्ययनले स्नातकमाथि ५० प्रतिशत विद्यार्थी न्यून भइसक्यो, हामी चिन्ता गर्ने ठाउँमा पुग्यो तर सरकार मौन छ,’उनले भने।
यो अवस्थाले क्याम्पस सञ्चालक प्रमुख, प्राध्यापक,अभिभावकलगायत पदाधिकारीहरू चिन्तित भएको बताए। ‘तर विद्यार्थीहरू यहाँ आफ्नो भविष्य देखेका छैनन्,’उनले भने,‘आज क्याम्पसमा हुनुपर्ने भीडभाड अन्तराष्ट्रिय विमानस्थलमा देखिएको छ,यस विषयमा नेपाल सरकार चिन्तित हुन सदनमार्फत शिक्षा मन्त्रालयलाई जानकारी गराउन चाहन्छु।’