काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल बझाङ पुगेका छन्। भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत बझाङ पुगेका हुन्।
प्रधानमन्त्रीको टोलीमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद र जिल्लाका सांसदहरू समेत सहभागी छन्।
प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित केही क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ। जिल्ला विपद् व्यवस्थापन समितिसँग अन्तरक्रिया र पीडितहरुलाई राहत हस्तान्तरणको कार्यक्रम पनि रहेको बताइएको छ।
गत मंगलबार गएको भूकम्पले बझाङमा एक जनाको मृत्यु भएको थियो भने दर्जनौं मानिस घाइते भएका छन्। भूकम्पले थुप्रै घर र केही विद्यालय भवन पनि भत्किएका छन्।
यसैबीच, मंगलबार ६ दशमलव ३ रेक्टरको शक्तिशाली भूकम्पपछि परकम्प जाने क्रम अझै रोकिएको छैन। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गएराति १० बजेर ५२ मिनेटमा चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन र १२ बजेर २३ मिनेटमा चैनपुर नै केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको परकम्प गएको छ।