काठमाडौं- जापानको केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्वगभर्नर हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौती रहे पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउनुभएको छ । आज शुक्रवार काठमाण्डौको दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका पूर्वअध्यक्षसमेत रहेका कुरोदाले नेपाली अर्थतन्त्रमा केही समस्या रहे पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउनुभएको हो ।
१० वर्षअघि पनि नेपाल भ्रमणमा आएको स्मरण गर्दै पूर्वगभर्नर कुरोदाले यस १० वर्षको अवधिमा नेपालको अर्थतन्त्रमा आफूले ठूलो परिवर्तन महसुस गरेको जनाउनुभयो । ‘पछिल्लो १० वर्षमा नेपालको आर्थिक विकासबाट म प्रभावित भएको छु, तर यहाँ आर्थिक विकसको अझै प्रचुर सम्भावना छ’, उहाँले भन्नुभयो ।
पूर्वगभर्नर कुरोदाले नेपालको अर्थतन्त्रका तीन वटा क्षेत्रमा आफूले सम्भावना देखेको बताउनुभयो । उहाँले नेपालमा मानव स्रोत, जलस्रोत र पर्यावरणीय स्रोत प्रचुर रहेको भन्दै यस्ता स्रोतको सदुपयोग गर्नसके नेपालमा आर्थिक विकास हुने जिकिर गर्नुभयो । उहाँले नेपालमा अझै धेरै चुनौती रहेको उल्लेख गर्दै नेपाल सरकार र यहाँको राजनीतिक नेतृत्वले त्यसबारे ध्यान दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
नेपाल भ्रमणका क्रममा आफूले यहाँका अर्थशास्त्री, राजनीतिज्ञ एवम् सरोकारवालाहरूसँग भेटघाट गरेको र अर्थतन्त्रबारे छलफल गरेको उहाँले जानकारी दिनुभयो ।
कुरोदाले नेपालले धेरै ऋण लिनुअघि सावधान हुनुपर्ने जिकिर गर्नुभयो । जापानमा कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० र ऋणको अनुपात २६३ प्रतिशत रहेको उल्लेख गर्दै चालु खाता बचतमा रहेकाले जापानलाई ऋण लिन सहज भएको उहाँको भनाइ छ । तर नेपालको चालु खाता घाटामा रहेकाले ऋण लिनुअघि सावधानी अपनाउनुपर्ने उहाँको तर्क छ ।
‘जापानको चालु खाता ठूलो नाफामा छ । यस प्रकारको बचतले जापान सरकारलाई ऋण लिन सहज भएको छ’, उहाँले भन्नुभयो, ‘मेरो विचारमा थप ऋण लिनुअघि नेपाल सचेत हुनुपर्छ । ऋण नै लिनुपर्ने अवस्था भए पनि एसियाली विकास बैंक र विश्व बैंकजस्ता संस्थाबाट सहुलियतपूर्ण ऋण लिनुपर्छ ।’
पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष विन्दुनाथ लोहनीले पूर्वगभर्नर कुरोदालाई नेपालमा स्वागत गर्न पाउँदा आफू खुशी भएको बताउनुभयो । उहाँले पूर्वगभर्नर कुरोदाले नेपाली अर्थतन्त्रलाई आशावादी दृष्टिकोणले हेरेको भन्दै यसबाट आफू प्रभावित भएको जनाउनुभयो । उहाँले राजनीतिक नेतृत्वको ध्यान आर्थिक वृद्धि तथा युवाहरूको विकास एवम् रोजगारीमा केन्द्रित हुनुपर्ने भन्दै नेपालमा सूचना प्रविधिजस्ता क्षेत्रको ठूलो सम्भावना रहेको र निजीस्तरबाट लगानी गरेर यस क्षेत्रमा युवाहरूलाई परिचालन गर्नुपर्ने जिकिर गर्नुभयो ।