काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले पीडित परिवारले चाहेमा मात्रै कैद मिनाहा गर्न सकिने कानुन बनाउनुपर्ने बताउनुभएको छ ।
आज शुक्रवार सङ्घीय भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले पीडित परिवार दोषीलाई माफी दिन तयार भएमा राष्ट्रपतिसमक्ष पुगेर माफी दिन सकिने बताउनुभएको हो । तर पीडित परिवार पनि धम्की र लोभका कारण माफी दिन तयार देखिन सक्ने खतरा रहेको औँल्याउँदै उहाँले नेपाली समाजमा यसो गर्न पनि सजिलो नहुने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अब हामीले कसैलाई माफी दिने हो भने पीडित परिवारकै सदस्यलाई बोलाएर सोधौँ । त्यो परिवारको सदस्य के तयार छ त्यसमा माफी दिन ? माफी दिन तयार छ भने राष्ट्रपतिकोमा लिएर माफी दिउँ । माफी दिन परिवार तयार छैन भने त्यो अवस्थामा हामीले माफी दिने कुरा गलत हुन्छ । यद्यपि परिवार तयार हुनेबित्तिकै माफी दिइहाल्नुपर्छ भन्ने कुरा पनि फेरि हाम्रोजस्तो समाजमा सजिलो कुरो होइन । परिवारलाई धम्क्याइएको हुनसक्छ । लोभमा पारिएको हुनसक्छ । दिनदहाडै खुँडा प्रहार गरेको मान्छे फूलमाला, अबिर लगाएर हिँडेको देख्दा नागरिकमा वितृष्णा हुँदैन रु नागरिकमा आवेग हुँदैन ? र त्यो आवेग कहिले राजनीतिक रूपमा भड्किन्छ । कहिले धार्मिक रूपमा भड्किन्छ । त्यस कारणले अहिले समाजमा भइरहेको वितृष्णा र समाजमा फैलिइरहेका विविध खाले आवेगलाई नियन्त्रण गर्न पहिला हामी नियन्त्रित हुनुपर्छ । सांसद, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म संयमित बन्नुपर्छ ।’
महामन्त्री शर्माले नेपालगञ्जका ‘रिगल डन’ भनिने योगराज ढकाललाई माफी दिने सरकारको निर्णयलाई अदालतले वैद्यता दिन नहुने बताउनुभयो । अदालतले यो निर्णयलाई वैधता दिएमा दण्डहीनता बढेर जाने उहाँले बताउनुभयो । महामन्त्री शर्माले समाजमा हरेक क्षेत्रमा आवेश र असन्तुष्टि रहेको भन्दै यसले सामाजिक सद्भाव बिगार्न मद्दत पुगिरहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले जिम्मेवारपूर्ण भएर काम गरे नागरिकको विश्वास आर्जन हुने र यस्तो घटनाक्रम रोकिने विश्वास व्यक्त गर्नुभयो ।