काठमाडौं - बौद्ध क्षेत्रमा लुटेरा समुहलाई पक्राउ गर्न प्रहरीले चलाएको गोली लागेर घाईते भएका व्यक्ति सिन्धुलीका रहेको खुलेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ को जगडोलमा तीन वटा मोटरसाइकलमा आएका लुटेरा समुह विरुद्ध गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर सिन्धुलीको कमलामाई नगरपालिका–२ का ३६ वर्षिय अमर घलान घाईते भएको खुलेको छ । घलानको घुँडामुनि र तिघ्रामा गोली लागेको छ । उनको अहिले नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । प्रहरीले लुटेरा समुहका अन्य दुई जनालाई पनि पक्राउ गरेको छ । सिन्धुपाल्चोकका ३० वर्षिय जितेन लामा र सर्लाहीका शन्त लामालाई प्रहरीले पक्राउ गरेको हो ।
अन्य दुई जना भने फरार भएका छन् । उनीहरुको खोजी भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । प्रहरीले उनीहरुको साथबाट पेस्तोल र ७ राउन्ड गोली बरामद गरेको छ । लुटेरा समुह आएको खबर पाएपछि आज दिउँसो त्यहाँ पुगेको प्रहरी टोलीमाथि गोली प्रहार गर्न हतियार झिकेपछि आत्मरक्षाका लागि भन्दै प्रहरीले गोली चलाएको थियो ।