रुपन्देहि । सहकारीको रकम हिनामिना गरेको प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई अनुसन्धानका लागि ८ दिन हिरासतमा राख्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको छ ।
जिबी राईले पोखरामा सूर्यदर्शन, चितवनमा सहारा, बुटवलमा सुप्रिम सहकारी खोलेका थिए । राईले सुप्रिम सहकारीको सचिवमा दीपेश पुनलाई राखेका थिए । दिपेश पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन ।
शुक्रबार काठमाडौँमा पक्राउ परेका पुनलाई प्रहरीले आइतबार रुपन्देही जिल्ला अदालतमा म्याद थपका लागि पेस गरेको थियो ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका पुनलाई शुक्रबार नै बुटवल ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले पुनलाई ८ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले म्याद दिएको छ ।
सहकारी ठगी प्रकरणका अनुसन्धान गर्दा पुनलाई नियन्त्रणमा लिनुपर्ने देखिएकाले पक्राउ गर्न रुपन्देही प्रहरीले काठमाडौँ प्रहरीलाई पत्राचार गरेको थियो । रुपन्देही प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले अनुसन्धानकै क्रममा रहेकाले अहिले धेरै विषय खुलाउन नमिल्ने बताए ।
पुनमाथि सुप्रिम सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोप छ । यसअघि सोही सहकारीका अध्यक्ष ओम गुरुङ र भैरहवाका शाखाकी प्रमुख दुर्गा चापागाईँलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उक्त सहकारीको रकम हिनामिनामा मुख्य आरोपित जीवी राई भने फरार छन ।