
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभामा दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजाको पाउमा दाम चढाएर गृहमन्त्री र सांसद बनेको नबिर्सिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओलीले हिजोको दिनमा श्री ५ को सरकारको जय होस् भनेर लाभको पद धारण गरेको बताएका हुन् ।
नेता शाहीले बरु प्रचण्डले हिजोको दिनमा राजाको पाउमा दाम चढाएर कुनै लाभको पद धारण नगरेको उनले बताए । हिजो प्रधानमन्त्री ओलीले दाङ पुगेर प्रचण्डले तत्कालीन राजा ज्ञानेन्द्रसँग साँठगाँठ गरेको आरोप लगाएका थिए ।
प्रधानमन्त्री ओलीले लगाएको आरोपमाथि टिप्पणी गर्दै नेता शाहीले भने, ‘प्रधानमन्त्रीले वीरेन्द्र सरकार, ज्ञानेन्द्र सरकारको पाउमा दाम चढाएर गृहमन्त्री खाएका, सांसद भएको बिर्सिनुभयो ? श्री ५ को सरकारको जय होस् भनेको होईन ? बरु प्रचण्डले खाएका छैनन् ।’
