
अस्पताल कर्मचारी युनियनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा पदाधिकारी नियुक्त गर्न माग गरेको छ।
शुक्रबार प्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई ज्ञापनपत्र बुझाउँदैं युनियनले उक्त माग गरेको हो। न्याम्सका तत्कालीन उपकुलपति डा. डिएन शाहको कार्यकाल गत ३० फागुनमा सकिएको थियो।
न्याम्समा रजिष्ट्रारलगायत अन्य पदाधिकारी पनि रिक्त छन्। प्रतिष्ठानको कुलपति प्रधानमन्त्री र सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री हुने व्यवस्था छ। प्रतिष्ठानमा पदाधिकारी नहुँदा शैक्षिक, आर्थिक र प्रशासनिक काम ठप्प रहेको भन्दैं युनियनले तत्काल पदाधिकारी नियुक्त गर्न माग गरेको हो।
युनियनले पदाधिकारी नियुक्ति गर्दा प्रतिष्ठान र वीर अस्पतालमै कार्यरत वरिष्ठ प्राध्यापकमध्ये बाट नियुक्ति गर्नुपर्ने तथा पदाधिकारी नियुक्तिमा प्रतिष्ठान सेवा तर्फबाट कम्तिमा ५० प्रतिशत पदाधिकारी नियुक्ति गर्नुपर्ने व्यवस्था गर्नसमेत माग गरेको छ।
