पूर्व गृहमन्त्रीसहित उच्च पदस्थ अधिकारीहरूलाई पक्राउ गरेर अघि बढाइएको नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धानले, नेपालले उक्त कसुरलाई गम्भीरतापूर्वक लिएको सन्देश अन्तर्राष्ट्रिय समुदाय समक्ष पुगेको प्रधानमन्त्रीका एक जना सल्लाहकारले बीबीसीलाई बताएका छन्।
संयुक्त राज्य अमेरिकामा पुनर्वास गराइदिने भन्दै ठगी गर्ने गिरोहले आफूहरूबाट झन्डै २३ करोड रुपैयाँ सङ्कलन गरेको आरोप लगाउँदै १०० भन्दा बढीले प्रहरीमा उजुरी दायर गरेका छन्।
संयुक्त राष्ट्र सङ्घको शरणार्थी हेर्ने निकायले गम्भीर चासो व्यक्त गरिरहेको उक्त प्रकरणमा दोषी रहेकालाई कडा कारबाहीको माग गर्दै शनिवार देशका विभिन्न ठाउँमा प्रदर्शनहरू भएका छन्।
परराष्ट्र मामिलाका कतिपय विज्ञहरूले गृह प्रशासन जस्तो संवेदनशील निकाय जोडिएको उक्त प्रकरणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा गम्भीर आँच पुर्याएको बताइरहेका छन्।
नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गरिनुपर्ने मागसहित नागरिक तहबाट खबरदारीको क्रम शनिवार पनि जारी रहँदा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नागरिक समाज र सर्वसाधारण दुवैको सन्देश प्रधानमन्त्रीले प्राप्त गरिरहेको बताए।
उनले भने, “भ्रष्टाचारीहरूलाई नछोड्नुस् भनेर उहाँहरूले भनिरहनु भएको छ। यसले प्रधानमन्त्रीमा उत्साह थपिरहेको छ। कुनै पनि हालतमा यो नरोक्ने र अनुसन्धानका आधारमा जति संलग्न छन् तीनलाई न्यायिक निकायसम्म पुर्याउने काममा कुनै कसर बाँकी नराख्नुस् भनेर प्रहरीलाई भन्नु भएको छ।”
यसअघि गएको विहीवार प्रमुख विपक्षी दल नेकपा एमालेले नक्कली शरणार्थी प्रकरणमा ‘निर्दोषलाई बचाउन र दोषीलाई उम्काउन खोजिए’ कडा प्रतिवाद गर्ने चेतावनी दिएको थियो।
उक्त दलले सो प्रकरणमा मुछिएर हालसम्म फरार रहेका आफ्ना सचिव तथा पूर्व उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ।