महोत्तरी- महोत्तरीको गौशाला नगरपालिकाका छ जना किशोर किशोरी बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले जेठ १ गते घरबाट निस्केका गौशाला नगरपालिकाका दुई किशोर र चार किशोरी सम्पर्कविहीन भएको जनाएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रकाश मल्लले गौशाला नगरपालिका–४ का १५ वर्षीया पुजा सदा, १३ वर्षीया विमला सदा, १८ वर्षीया संगीता सदा, १७ वर्षीया रिता सदा, १४ वर्षीय करण सदा र १३ वर्षीय राजेश सदा सोमबार साँझदेखि सम्पर्कविहीन भएको सूचना प्राप्त भएको जनाए।
प्रमुख मल्लले जेठ १ गते सम्पर्कविहीन भएका उनीहरू बारे २ गते मात्रै प्रहरीमा जानकारी आएको बताए। उनले सम्पर्कविहीन उनीहरूको खोजी कार्य भइरहेको जानकारी दिए।
गौशाला नगरपालिकाका उपप्रमुख रेणु कुमारी महतोले सम्पर्कविहीन किशोर किशोरीको खोजीका लागि इलाका प्रहरी कार्यालय गौशालालाई आग्रह गरेको बताइन्।
यसअघि गत वर्ष काम लगाइने भन्दै महोत्तरीको भंगहा नगरपालिकाका करिब १२ जना दलित बालिकालाई भारत लैजाँदै गरेको समयमा सितामढीबाट प्रहरीले सुरक्षित उद्धार गरेको थियो।