काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई पनि बचाऊ गर्न सक्ने अवस्था नरहेको बताएकी छन्। नेपाल सरकारका प्रवक्तासमेत रहेकी उनले सरकारले आफैँभित्र त्यो देखिए पनि त्यसलाई कारबाही गरेर अघि बढने संकल्प लिएको पनि स्पष्ट पारिन्।
प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले राम्रो कामको सुरुवात गरिरहेको दाबीसमेत गरिन्।
मन्त्री शर्माले माओवादी मन्त्रीहरुले विगत र अहिले पनि अरू दलका मन्त्रीहरुले भन्दा रामो काम गरिरहेको जिकिर पनि गरिन्। बदमासी माओवादी पार्टीबाट मन्त्री बनेकाहरुले पनि गरेको हुनसक्ने स्वीकार गर्दै उनले अरू दलका मन्त्रीहरुको तुलनामा भने कम गल्ती गरेको बताइन्।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकाल बढी सुझबुझपूर्ण ढंगले अघि बढाएको भन्दै प्रशंसासमेत गरिन्। मन्त्री शर्माले भनिन्, ‘अहिले सरकारले राम्रो सुरुवात गरेको छ। अस्ति हाम्रो प्रधानमन्त्रीले प्रश्नोत्तरको बेलामा बोल्नु भयो। त्यो बोलिरहँदा एउटा कन्डिशन के देखियो भने हिजोदेखि अहिलेसम्मका सरकार हेरौं। हिजो केपी ओलीले नेतृत्व गर्दा होस्, शेरबहादुर देउवाले नेतृत्व गर्दा होस्। जसले नेतृत्व गर्दाहोस–माओवादी मन्त्रीहरु त्यतिधेरै बदनाम छैनन्। राम्रो परिणाम हामीले कति निकाल्न सक्यौँ, त्यो एउटा कुरा होला। तर बदमासी गरेको भन्ने कुरा अरुका तुलनामा छैनन्। यो कुरा पनि हाम्रो सकारात्मक हो।
मन्त्री शर्माले सरकारले राम्रो काम गरिरहेको उल्लेख गर्दै त्यसको प्रचारप्रसारको काम गरिदिन पनि सञ्चार माध्यामहरुलाई आग्रह गरिन्।