काठमाडौं- नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले जलनका विरामीहरुलाई पनि क्यान्सर रोग सरहनै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।
खाना पकाउने ग्याँसको जलनबाट पीडित भएपछि पहिलो पटक बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उहाँले सो माग राख्नुभएको हो ।
गरिब मानिसहरु नै यसको बढि मारमा पार्ने भएकाले उनीहरुलाई पनि क्यान्सर, किड्नी रोगलाईजस्तै आर्थिक सहायता राज्यले उपलब्ध गराउनुपर्ने उहाँको तर्क थियो । सांसद भण्डारीले ग्याँस र विजुली जस्ता विषयवस्तु विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।
उहाँले आफू शौभाग्यबस बाँचेर संसदमा बोल्ने अवसर पाएको उल्लेख गर्दै नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरु विश्वका कुनै पनि चिकित्सकहरु भन्दा कम नभएको पनि बताउनुभयो । उहाँले नेपालमा जलन अस्पताल सरकारले स्थापना गरे त्यो एशीयाकै सवल हुने दाबी समेत गर्नुभयो ।
सांसद भण्डारीले कीर्तिपुर वर्न अस्पताल र सुष्मा मेमोरियल अस्पतालको भवन बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले ग्याँसमा स्वचालित रेगुलेटर राख्नुपर्ने व्यवस्था अनिवार्य हुने गरी कानून निर्माण गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
त्यस अवसरमा सांसद भण्डारीले आफूलाई जलनबाट बचाउन भूमिका निर्वाह गर्ने नेपाल सरकार, सांसदहरु, उपचारमा संलग्न चिकित्सक, शुभचिन्तक सबैप्रति आभार पनि व्यक्त गर्नुभयो ।