काठमाडौं- अवैध लागुऔषध खैरो हिरोइन कारोबार गर्ने गिरोहमा संलग्नको आरोपमा नेपाल प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरोले अवैध लागुऔषध खैरो हेरोइन कारोबार गर्ने गिरोहमा संलग्नको आरोपमा विभिन्न मितिमा पक्राउ गरेका ६ जनालाई शनिबार सार्वजनिक गरेको छ ।
प्रहरीले ९ जेठमा काठमाडौंको बौद्ध टुसालस्थित एक होटलबाट २० ग्राम खैरो हेरोइन, एउटा डिजिटल तराजु, ७ लाख ४० हजार नेपाली रुपैयाँसहित झापाका २७ वर्षीय किरण कन्दङ्वालाई पक्राउ गरेको थियो ।
त्यस्तै ११ जेठमा काठमाडौं महानगरपालिका–९ बाट ९४ ग्राम खैरो हिरोइनसहित झापाकै २८ वर्षका विजय लिम्बू, झापाकै चन्द्रगढीबाट मेची नगरपालिकाका २९ वर्षका माधव मेचे र विनोद लिम्बूलाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।
उनका अनुसार जेठ १२ गते झापाको भद्रपुर नगरपालिकाबाट १९४ ग्राम ५४० मिलिग्राम खैरो हेरोइनसहित भारतको दार्जिलिङका २२ वर्षका शिव घोष र २६ वर्षकी श्यामला सोरेन पनि पक्राउ परेका छन् ।
प्रहरीले तीन किलो ६०० ग्राम चरेससहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का ४२ वर्षका तेम्बा शेर्पालाई पनि पक्रेको छ । उनलाई जेठ ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्ड जाने क्रममा पक्राउ गरेको व्यूरोले जनाएको छ ।