काठमाण्डौ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घले विश्वविद्यालयहरूको कुलपति राष्ट्रपति राख्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
सोमवार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ३३ बुँदे ज्ञापनपत्र बुझाउँदै नेविसङ्घले विश्वविद्यालयको कुलपति राष्ट्रपति हुने व्यवस्था गर्न माग गरेको हो । विश्वविद्यालयमा राजनीतिकरण हुन नदिन पनि भारतमा जस्तै नेपालमा पनि राष्ट्रपति कुलपति हुने व्यवस्था गर्न सरकारसँग माग गर्नुपरेको सङ्घका अध्यक्ष दुजाङ शेर्पाले बताउनुभयो ।
अध्यक्ष शेर्पाले भन्नुभयो, ‘नेपालका विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति हुने जुन व्यवस्था छ । विश्वविद्यालयलाई राजनीतिकरणबाट थोरै मुक्त गर्नका लागि भारतमा पनि राष्ट्रप्रमुखलाई नै कुलपति राख्ने प्रचलन छ । नेपालले पनि त्यही प्रणाली अपनाइयो भने विश्वविद्यालयको गरिमा पनि रहने र राजनीतिकरणबाट पनि मुक्त हुने हुन्छ ।’
त्यसैगरी सङ्घले विश्वविद्यालयको पदाधिकारी योग्यता, क्षमता र कार्ययोजनाको आधारमा नियुक्ति गर्न पनि सरकारलाई सुझाव दिएको छ । ज्ञापनपत्रमा सडक, हवाई, यातायात, स्वास्थ्य र मनोरञ्जनको क्षेत्रमा विद्यार्थीलाई ४५ प्रतिशत सहुलियत प्रदान गर्नुपर्ने, परीक्षा प्रणालीलाई समयमै सम्पन्न गर्नुपर्नेलगायतका मागहरू पनि समावेश गरिएको छ ।
सङ्घले ११ महिनादेखि रिक्त त्रिभुवन विश्वविद्यालय शिक्षा सेवा आयोगको अध्यक्ष तत्काल नियुक्त गर्न, सङ्घीय शिक्षा ऐन तत्काल ल्याउन, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारसँग माग गरेको छ ।