काठमाण्डौ- नक्कली भुटानी शरणार्थी प्रकरणमा हिजोदेखि सुरु भएको थुनछेक बहस अर्को हप्तासम्मै चल्ने भएको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन हिजो सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस गरेका छन्।
पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतका अभियुक्तलाई अदालतमा उपस्थित गराएर सरकारी वकिलहरूले थुनछेक बहस गरेका हुन् । उनीहरुविरुद्ध सरकारी वकिलले आज र भोलिसम्म बहस गर्ने तयारी छ । त्यसपछि प्रतिवादीका वकिलले प्रतिरक्षा गर्नेछन् ।
खाणको तर्फबाट पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खाती तथा रायमाझीको तर्फबाट पूर्व महान्यायाधीवक्ता रमेश बडाल लगायतले प्रतिरक्षा बहस गर्ने तयारी गरेका छन् । अर्को हप्तासम्म थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय हुनेछ ।