काठमाण्डौ-अवैध कल बाइपासमा संलग्न दुई जना पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा अवैध कल बाइपासमा संलग्न रहेको आरोपमा एक नेपाली र एक चिनियाँ नागरिक पक्राउ परेका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भइ काठमाण्डौ सोह्रखुट्टे बस्ने २२ वर्षीय गणेश श्रेष्ठ र ३२ वर्षीय चिनियाँ नागरिक झाओ जियाङपेङ पक्राउ परेका हुन् ।
ललितपुर महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा गैरकानुनी रूपमा शङ्कास्पद गतिविधि भइरहेको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले केही दिनदेखि खोजतलास गरिरहेको थियो । उनीहरूको साथबाट सिमकार्ड तथा अन्य अवैध उपकरण, नेपाली रुपैयाँ र विभिन्न देशका मुद्रा बरामद गरिएको छ ।
एनसेलको प्रयोग गरेका र नगरेका सिम तीन हजार सात सय थान, झण्डै पाँच लाख नेपाली रुपैयाँ र डलरसहित विभिन्न देशको मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ ।