सुनसरी- सुनसरीको बराहक्षेत्र नगरपालिका–१० स्थित सप्तकोशी नदीको किनारमा भएको ‘लेडी फाइट’ मा संलग्न पाँचैजना युवतिहरुलाई प्रहरीले पक्राउ गरेको छ । ब्वाइफ्रेन्डको पोल खोलिदिएको र बेइज्जत गरिदिएको आरोपमा तीन युवतिहरुमाथि निर्घात कुटपिटमा संलग्न पाँचजना युवतिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कुटपिटमा संलग्न सुनसरीको बराहक्षेत्र नगरपालिका–१० भुजेलटोलकी १९ वर्षीया प्रिति लिम्बु, बराहक्षेत्र–८ सैनिकटोलकी १८ वर्षीया दुर्गा राई, २२ वर्षीया बिनिता उराँव, बराहक्षेत्र–९ की १९ वर्षीया सन्जिता राई र निहाङ राई पक्राउ परेको जनाइएको छ ।
उनीहरुले गत शुक्रबार बराहक्षेत्र नगरपालिका–९ राजाबास टोलस्थित सप्तकोशी नदी किनारमा अर्को समूहमा रहेका तीन युवतीहरूलाई बोलाएर कुटपिट गरेका थिए । चिनजानकै साथीहरु रहेका उनीहरुबीच एक अर्काको ब्वाईफ्रेन्डको पोल खोलिदिएको बिषयमा सामान्य विवाद भएको र त्यसैलाई इगो बनाएर झगडा भएको प्रहरीले जनाएको छ । कुटपिट गरेको भिडियो बनाएर उनीहरुले नै सामाजिक सञ्जालमा राखेपछि घटना बाहिरिएको थियो ।
प्रहरीका अनुसार असार २९ गते शुक्रबार साँझ करीव साढे ५ बजेतिर बराहक्षेत्र–८ की १९ वर्षीय मनीषा राई तथा १७ वर्षीया र १६ वर्षीया अर्की युवतीमाथि निर्घात कुटपिट भएको जनाइएको छ । घटनापछि फरार रहेका पाँच जनाको समुहमा रहेका युवतिहरुलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक राजेश दत्तको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले तीन पटकमा पक्राउ गरेको हो ।
१९ वर्षीया प्रिति सोही दिन पक्राउ परेकी हुन् । त्यसैगरी दुर्गा र बिनितालाई मंगलबार दिउँसो इटहरीबाट तथा सन्जिता र निहाङलाई नडाह चोकबाट चेकिङको क्रममा बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार राईले बताए ।
पीडित युवतिहरुले आफुलाई गफ गर्नका लागि झुक्याएर बोलाएर कुटपिट गरेको र भिडियो समेत सामाजिक सञ्जालमा राखेको भन्दै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा गत आइतबार किटानी जाहेरी दिएका थिए ।
जाहेरीका आधारमा पाँच जनाको समुहमा रहेका युवतिहरुलाई पक्राउ गरिएको प्रवक्ता राईले जानकारी दिए । उनीहरुलाई जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको जनाइएको छ ।