काठमाडौँ- नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिता खेल्न राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।
विश्वस्तरिय छनोट प्रतियोगिताबाट दुई टोली महिला टी–२० विश्वकपमा छनोट हुनेछन् । महिला विश्वकप क्रिकेट सन् २०२४ मा बंगलादेशमा आयोजना हुँदै छ । महिला विश्वकपमा १० टोलीको सहभागिता रहने छ । हालसम्म महिला विश्वकपमा सहभागी हुने ६ टोलीको टुङ्गो लागिसकेको छ । ती ६ टोलीमा अस्ट्रेलिया, इङ्गल्यान्ड, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र वेस्टइन्डिज रहेका छन् ।
विश्वकप छनोट प्रतियोगितालाई ध्यानमा राखी क्यानले भारतकी देविका दिलिप पालशिकरलाई राष्ट्रिय महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकको रूपमा नियुक्त गरेको छ । ४४ वर्षीय पालशिकर नेपालको सिनियर राष्ट्रिय महिला टोलीसँग सल्लाहकार ब्याटिङ प्रशिक्षकका रूपमा जोडिएकी हुन् ।
नेपालको सिनियर राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकका रूपमा नियुक्त हुने पालशिकर पहिलो विदेशी हुन् । भारतीय टोलीकी पूर्वखेलाडी पालशिकर विगत लामो समयदेखि प्रशिक्षकको भूमिकामा सक्रिय छिन् ।
आफ्नो समयकी अलराउन्डर खेलाडी पालशिकरले भारतका लागि टेस्ट र एकदिवसीय दुबै प्रतियोगिता खेलेकी थिइन् । उनी पछिल्लो १० वर्षयता प्रशिक्षकको भूमिकामा सक्रिय छिन् । ब्याटिङ प्रशिक्षकका रूपमा पालशिकरको संलग्नताले नेपाली खेलाडीको क्षमता अभिवृद्धिमा मद्दत पुग्ने विश्वकप क्यानले लिएको छ ।