काठमाडौँ- प्रभावशाली अस्ट्रेलियन खेलाडी निक किर्गियसले ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपनमा सहभागिता नजनाउने भएका छन् । घाइते भएका कारण उनले यूएस ओपनबाट आफ्नो नाम फिर्ता लिएको प्रतियोगिताको आयोजकले जनाएको छ ।
२८ वर्षीय किर्गियसले यो वर्ष घाइते समस्याका कारण अधिकांश समय कोर्ट बाहिर नै बिताएका छन् । यसअघि उनी स्वास्थ्य समस्याकै कारण अर्को ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डनमा पनि सहभागी भएका थिएनन् । नाडीमा समस्या देखिएपछि उनले विम्बल्डनबाट नाम फिर्ता लिएका थिए ।
यसैगरी घुँडाको समस्याका कारण उनले अर्को ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपन पनि खेल्न सकेनन् । यसका अतिरिक्त खुट्टाको समस्याका कारण चौथो ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपनमा पनि उनी सहभागी हुन सकेनन् ।
वर्षको अन्तिम ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपन अगस्ट २८ देखि सेप्टेम्बर १० तारिखसम्म न्युयोर्कमा आयोजना हुँदै छ । किर्गियसले हालसम्म ग्रान्डस्लाम प्रतियोगिताको उपाधि भने जित्न सकेका छैनन् । सन् २०२२ मा उनी विम्बल्डनको फाइनलसम्म पुगेका थिए ।
सोही वर्ष उनी यूएस ओपनको क्वार्टरफाइनलसम्म पुगेका थिए । सन् २०१५ मा अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलसम्म पुगेको किर्गियस फ्रेन्च ओपनमा भने तेस्रो चरणभन्दा अगाडि बढ्न सकेका छैनन् । उनी सन् २०१५ र सन् २०१६ मा फ्रेन्च ओपनको तेस्रो चरणमा पुगेका थिए ।