काठमाडौँ- चर्चित ब्रिटिस मुक्केबाज एन्थोनी जोसुआले आफ्नो उत्कृष्टता सिद्ध गर्दै पछिल्लो हेभिवेट भिडन्तमा फिनल्यान्डका प्रतिद्वन्द्वी रोबर्ट हेलेनियसलाई ‘नकआउट’ गरेका छन् । ३३ वर्षीय बक्सर जोसुआले सातौँ चरणको खेलको सुरुमै प्रतिद्वन्द्वीमाथि दरिलो मुक्का प्रहार गरे ।
जोसुआको त्यही प्रहारले ३९ वर्षीय हेलेनियसलाई नकआउट गर्यो । यी दुई आक्रामक मुक्केबाजबीच शनिबार राति लन्डनमा भिडन्त भएको हो । उक्त भिडन्तअघि अधिकांश बक्सिङ पारखी जोसुआको जितप्रति विश्वस्त थिएनन् ।
जोसुआले करिब ३० महिनापछि कुनै पनि प्रतिद्वन्द्वीलाई नकआउट गरेका हुन् । ‘यो अनिश्चितताको खेल हो । त्यसैले हार वा जितको अनुमान लगाउन कठिन हुन्छ । जे होस, आजको भिडन्तमा मैले आफ्नो दायित्व पूरा गरेको छु,’ आफ्ना समर्थकहरूप्रति लक्षित गर्दै जोसुआले भने ।
जोसुआले अब अमेरिकी मुक्केबाज डियोन्टी विल्डरसँग भिडन्त गर्नेछन् । विल्डरसँगको भिडन्तको बारेमा सोधिएको एक प्रश्नको जवाफमा जोसुआले ठट्टा गर्दै भनेका छन्, ‘समयले देखाउला । के त्यो भिडन्तमा चिकित्सकको पनि उपस्थिति रहन्छ रु’
लामो समयपछि प्रतिद्वन्द्वीलाई नकआउट गरेपछि जोसुआ निकै भावुक बनेका थिए । प्रतिद्वन्द्वीलाई रिङमा ढालेपछि सबैभन्दा पहिले उनले विस्तारै मुस्कान छरे अनि रिङलाई घेरिएको डोरिमाथि उक्लिएर समर्थकलाई अभिवादन गरे ।
जोसुआले आफ्नो खेल जीवनमा हालसम्म २६ वटा जित हात पारेका छन् । त्यसमध्ये २३ भिडन्तमा उनले आफ्ना प्रतिद्वन्द्वीलाई नकआउट गरेका छन् । तीन वटा भिडन्तमा भने उनी आफ्ना प्रतिद्वन्द्वीसँग पराजित भएका छन् ।