काठमाडौँ- पर्वत क्लब हङ्कङले न्यू डायमण्ड युथ स्पोर्टस क्लबको निर्माणाधिन ईन्डोर हलका लागि आर्थिक सहयोग गरेको छ । पर्वत क्लबले सङ्कलन गरेको दुई लाख रुपैयाँ निवर्तमान उपाध्यक्ष गौरवकुमार गुरुङले न्यू डायमण्डका अध्यक्ष एवं प्रशिक्षक कुमार राईलाई हस्तान्तरण गरे ।
न्यू डायमण्डले आफ्ना महिला खेलाडीलाई नियमित प्रशिक्षणका लागि ईन्डोर हल र छात्रावास निर्माण गरिरहेको छ । हाल बेलायत बस्दै आएका निवर्तमान उपाध्यक्ष गुरुङले न्यू डायमण्डले महिला भलिबलमा पुर्याएको योगदान र प्रशिक्षक राईको भूमिकाको सराहना गर्दै पर्वत क्लबले आफ्ना सदस्यहरूबाट रकम सङ्कलन गरेको जानकारी दिए ।
पर्वत क्लबमार्फत तिलक गुरुङ, इन्द्र गुरुङ, फिरोज गुरुङ, काजीमान गुरुङ, बलराज गुरुङ, रोहिन गुरुङ, उत्तम थापा, सुरेश गुरुङ, मेख गुरुङ, दुर्गा थापा, सुरेन्द्र गुरुङ, ईश्वर गुरुङ र मनोज गुरुङले आर्थिक सहयोग गरेको हुन् ।
न्यू डायमण्डका सल्लाहकार अरुण श्रेष्ठका अनुसार, पूर्वराष्ट्रिय भलिबल खेलाडी मन्जु गुरुङ, सञ्जय अर्याल, सन्तु गुरुङ, मातीश्री पुनमगर, रसना गुरुङ, मन्जिला गुरुङ, नारायण गुरुङ, सुरेन्द्र गुरुङ, माया मगर पुन, रोशन गुरुङ, विक्रम थापा, तेज गुरुङ र गौरव गुरुङले पनि आर्थिक सहयोग गरेका छन् ।
न्यू डायमण्डको इन्डोर हल निर्माणका लागि हङ्कङ संखुवासभा तमु समाज, संखुवासभा समाज, आधिखोला स्पोर्टस क्लब, स्याङ्जा जनसेवा समिति, पुन क्लब, बागलुङ समाज र घान्द्रुक समाजलाई सहयोगका लागि पत्राचार गरिएको सल्लाहकार श्रेष्ठले जानकारी दिए ।
न्यू डायमण्डका अध्यक्ष राईले सहयोगी पर्वत क्लब हङ्कङ र क्लबका सदस्यहरूलाई धन्यवाद दिए । उनले नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बलियो बनाउने उद्देश्यसहित क्लबले महिला खेलाडीलाई प्रशिक्षण दिइरहेको बताए ।
क्लबका उपाध्यक्ष किरण कार्कीले चन्द्रगिरी—१३ मा निर्माणाधिन छात्रावास र ईन्डोर हलमा चारवटा कोठा, दुईवटा चेन्जिङ रुम, शौचालय र मैदान निर्माण भइसकेको जानकारी दिए । उनले अहिलेसम्म ४१ लाख रुपैयाँ खर्च भइसकेको बताए । न्यू डायमण्डमा हाल करिब ४० जना नियमित प्रशिक्षणमा छन् ।