काठमाडौँ- नेपालले आईएसएफ यू-१५ जिम्नासियाडमा विभिन्न पाँच खेलमा सहभागिता जनाउने भएको छ । अगष्ट १९ देखि २७ तारिखसम्म ब्राजिलको रियो दि जेनेरियोमा आयोजना हुने जिम्नासियाडमा समावेश गरिएका ३२ मध्ये पाँच खेलमा नेपालले भाग लिन लागेको हो ।
नेपालले थ्री बाइ थ्री बास्केटबल, बक्सिङ, पौडी, टेबलटेनिस टेनिस र तेक्वान्दोमा प्रतिस्पर्धा गर्नेछ ।
टेबलटेनिसमा सिम्रिका घिमिरे र निभा योसी प्रजापतिले नेपालको प्रतिनिधित्व गर्नेछिन् । पौडीमा आरुशा शाक्य, श्रयला महर्जन र सुगम श्रेष्ठ सिन्याले खेल्नेछन् ।
तेक्वान्दोमा उज्ज्वल वाग्ले, कृपन तामाङ र निश्चित कार्कीले प्रतिस्पर्धा गर्नेछन् । सम्यामी घिमिरे, आर्या पौड्याल, ओजश्वी श्रेष्ठ, उपमन्यु खन्डेल्वाल, सर्भाङ श्रेष्ठ, प्रणय बासी, प्रथम श्रेष्ठ, सम्राज श्रेष्ठ र आसिप महर्जनले बास्केटबलमा भाग लिनेछन् ।
बक्सिङमा भने शेरप गेल्चेन शेर्पा र प्रकृति थापा सहभागी हुनेछन् । नेपाली टोलीमा भीआईपी डेलिगेटमा प्रदीप जोशी, हेड अफ डेलिगेसनमा मोहनकुमार कार्की, डेपुटी हेड अफ डेलिगेसनमा सोविनराज रेग्मी तथा निणरयकमा धनकुमार मैनाली र रोशन बोहरा रहेका छन् ।
यसैगरी प्रशिक्षकमा सदीश प्रधान, प्रकाश थापामगर, राधाबहादुर तामाङ, अन्जना काफ्ले र शरद दर्शनधारी तथा अफिसियलमा नवीन महर्जन र राजेश राई रहेका छन् । आईएसएफ टीसी तेक्वान्दोका अध्यक्ष एवं नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की पनि टोलीसंगै ब्राजिल जाने छन् ।
नेपाली टोली फरक-फरक समयमा ब्राजिल जाने कार्यक्रम रहेको बताइएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टंकलाल घिसिङलगायतले बिदाइ गरे ।