काठमाडौं- कोशी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सर्वजित पाण्डे निर्वाचित भएका छन् । मंगलबार झापामा भएको निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार विप्लव घोषलाई ६ मतले पछि पार्दै सर्वजित अध्यक्ष बनेका हुन् ।
सर्वजित पाण्डेले १९ र विप्लव घोषले १३ मत प्राप्त गरे ।
उपाध्यक्षमा निर्वाचित भएका अनुप ढुंगानाले १८ मत पाए । उनका प्रतिस्पर्धी प्रविन थापाले १४ मत पाए ।
यसैगरी टीकाराम पुरीले १८ मत ल्याउँदै सचिव तथा बिरु श्रेष्ठ १९ मत ल्याएर कोषाध्यक्ष निर्वाचित भए । सचिवमा पराजित अर्जुन पौडेलले १४ र कोषाध्यक्षमा पराजित चेतनाथ पौडेलले १३ मत पाए ।
सदस्यहरुमा सुरेश गुरागाँई, सुमेश कुमार हलुवाई, शिवकुमार यादव, सचित आनन्द सुब्बा, मिङ्मा डन्डु शेर्पा, नारद नेपाल, नवीन घिमिरे, रामकृष्ण आचार्य र अम्बिका बुढाथोकी निर्वाचित भए ।
नेपाल क्रिकेट संघ (क्यान) को आगामी असोजमा हुने केन्द्रीय निर्वाचन हुनेछ । त्यसका लागि क्यानको जिल्ला संघको निर्वाचन सकिएको छ भने अहिले प्रदेश निर्वाचन चलिरहेको छ । यसअघि सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बाशुदेव जोशी सर्वसम्मत निर्वाचित भइसकेका छन् ।