काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एसिया कपका खेलहरूलाई स्मरणीय बनाउन आग्रह गरेका छन् ।
पहिलो पटक एसिया कपमा पुगेको नेपालले विश्वकप जितिसकेको दुई पावरहाउस भारत र पाकिस्तानसँग खेल्नेछ । बुधबार घरेलु टोली पाकिस्तानसँग उद्घाटन खेल खेल्न नेपाली टोली मुल्तान पुगिसकेको छ ।
पाकिस्तानसँग खेल्नु दुई दिनअघि सामाजिक सञ्जालमार्फत सन्देश दिँदै कप्तान रोहितले सपनाहरूलाई पछ्याउँदै चुनौती सामना गर्न निस्किएको बताएका छन् । उनले अघि लेखेका छन्, ब्याटको प्रत्येक स्ट्रोक, प्रत्येक क्याच र मैदानमा प्रत्येक क्षण हाम्रो लक्ष्यको एक कदम नजिक हुनेछ ।’
समर्पण, टोली भावना र समर्थनको अटल साथ बोकेर अघि बढ्ने भन्दै उनले भनेका छन्, ‘यो खेललाई स्मरणीय यात्रा बनाऔं १’
पाकिस्तान अहिले पटक ओडीआईमा विश्वकै पहिलो वरियताको टिम हो । अफगानिस्तान विरुद्धको तीन खेलको सिरिज क्लिन स्वीप गर्दै पाकिस्तान विश्व वरियताको शीर्ष स्थानमा उक्लिएको छ ।
एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा पुगेको नेपालले समूहको दोस्रो खेल भारतसँग सेप्टेम्बर ४ मा श्रीलंकाको क्यान्डीमा खेल्नेछ । विश्व क्रिकेटका बलिया भारत र पाकिस्तानसँग खेल्ने अवसर नेपालका लागि हारजितभन्दा ठूलो अवसर हो ।