काठमाडौं- आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा नेपालले १० विकेटको फराकिलो जित निकालेको छ । मलेसियामा बहराइनबाट पाएको ३२ रनको झिनो चुनौति नेपालले बिना क्षति भेट्टाएको हो ।
नेपालका लागि ओपनर सीता राना मगर र काजल कुवँरले ३२ रनको साझेदारी गरेपछी नेपालले सहज जित निकालेको हो। कविता १७ र सीता २ रनमा नटआउट रहे । त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराईन १५.४ ओभरमा अल आउट हुदैँ ३१ रनमा समेटियो ।
बहराइनलाई कम स्कोरका रोक्न इन्दु बर्मा एक्लैले तिन विकेट झारिन्। त्यस्तै खुसी डंगोलले दुई विकेट, कविता कुवँर, पुजा महतो, रुविना क्षत्री बेलवासेले समान एक विकेट लिए । कप्तान दिपीका रासंगिकाले बनाएको ११ रन नै बहराइनका लागि सर्वाधिक रह्यो। दिपीका इन्दु बर्माको बलमा बोल्ड आउट भईन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
महिला क्रिकेटको इतिहासमा नेपालले पाएको यो दोस्रो सानो लक्ष्य हो । यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट पारेको थियो । उक्त खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गरेको थियो ।
समूह ‘ए’ मा नेपालसँगै आयोजक मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन्। समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् । समुह चरणको तेस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ। सोमबार कतार र समुह चरणको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्ने तालिका छ। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
सेमिफाइनल खेल भदौ २२ गते शुक्रबार हुनेछ। फाइनल खेल २३ गते शनिबार हुनेछ । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल क्वालिफायर खेल्नेछ।