काठमाडौं- मलेसियामा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा कमजोर ब्याटिङ गरेपछि नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको छ । यस हारपछि नेपालको ग्लोबल क्वालिफायर पुग्ने लक्ष्य समेत पूरा हुन सकेन ।
थाइल्याण्डले दिएको १०६ रन लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रनमै अलआउट भयो । नेपालका लागि कविता कुँवर अविजित रहँदै सर्वाधिक १७ रन बनाइन् भने कविता जोशी र अप्सरी बेगमले समान १० रन जोडे । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपाललाई अलआउट गर्न थाइल्याण्डकी ताईपत्छा पुतावोङ र ओनिचा काम्चोन्फुले ३-३ विकेट लिइन् । नातया बुताथमले २ विकेट लिइन् ।
त्यसअघि बांगीस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २ विकेट गुमाएर १०५ रन बनाएको थियो ।
सुरूमै विकेट गुमाएपछि सुस्त सुरुवात गरेको थाइल्याण्डले ओपनर नानापात खोज्जारोएन्काईको अर्धशतक मद्दतमा सय रन कटाएको थियो । नानापात बोङ्खारोएन्काईले ६३ बल खेल्दै ४ चौका मद्द तमा अविजित ५९ रन बनाइन् ।
खेलको पहिलो ओभरमै नेपालकी कविता कुँवरले थाइल्याण्डकी ओपनर सुवानान खाइआओटोलाई रुविना क्षेत्रीबाट क्याचआउट गराएकी थिइन्। तर त्यसपछि नानापात बोच्चारोएन्काई र नाथाकान चान्थमले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै रन उकासेका थिए ।
चान्थमले ३१ रन बनाइन् । नेपालक लागि कविता र पुजाले समान एक विकेट लिए ।