बेइजिङ । आइफोन निर्माता कम्पनी एप्पलले चीनमा आइफोनको मूल्यमा कटौती गरेको छ । चीनमा कम्पनीको टीमल साइटमा यो अभियान लञ्च गरिएको छ ।
यसमा कम्पनीले छानिएका आइफोन मोडलमा २ हजार ३०० युआन (३१८ डलर) सम्म छूट दिइरहेको छ । चिनियाँ बजारमा कम्पनीको विक्री घटिरहेकै समयमा बजार हिस्साको रक्षा गर्न कम्पनीले आक्रामक कदम चालिरहेको हो ।
चीनमा एप्पलले हुवावेई लगायत घरेलु कम्पनीहरूसँगको चर्को प्रतिस्पर्धाको सामना गरिरहेको छ । छूट अभियान मे २० देखि २८ सम्म रहेको छ । यसअघि कम्पनीले चिनियाँ बजारमा पहिलो पटक फेब्रुअरीमा आइफोन छूटमा बेचेको थियो । पछिल्लो अभियानमा त्यतिबेलाको भन्दा निकै धेरै छूट दिइएको छ । फेब्रअुरीको अभियानमा कम्पनीले सबैभन्दा धेरै दिएको छूट १ हजार १५० युआन थियो ।
यस पटकको सर्वाधिक छूट १ टीबीको आइफोन १५प्रो म्याक्स मोडलमा लागू हुनेछ । अन्य मोडलमा पनि भारी छूट दिइएको छ । १२८ जीबीको आइफोन १५ को मोडलमा १ हजार ४०० युआने छूट दिइएको रोयटर्सले सोमबार छूट रकम चेक गर्दै भनेको थियो ।
हुवावेईले गएको महिना हाई–एन्ड स्मार्टफोन सिरिजमा प्युरा ७० लञ्च गरेयता चीनमा एप्पलमाथिको दबाब बढेको छ । गएको वर्ष कम्पनीले मेट ६० लञ्च गरेको थियो । फेब्रुअरीमा चलाइएको छूट अभियानले चीनमा एप्पलको विक्रीमा आएको सुस्तीलाई कम गर्न सघाएको थियो ।
मार्च महिनामा चीनमा एप्पलको विक्री १२ प्रतिशतले बढेको रोयटर्सको हिसाबले देखाएको छ । यो सन् २०२४ को पहिलो २ महिनाको भन्दा निकै राम्रो हो । जनवरी–फेब्रुअरीमा चीनमा एप्पलको बिक्री ३७ प्रतिशतले घटेको थियो ।