काठमाडौँ- अर्थमन्त्री प्रकाशशरण महतले नेपाली अर्थतन्त्रका समस्या स्वीकार गरेर बजेट ल्याएको बताएका छन् । उनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा बजेट सुधारको प्रस्ताव राखेको र कार्यान्वयनको प्रस्ताव राखेको बताएका हुन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री महतले समस्याहरू एकै चरणमा समाधान गर्न नसकिने कुरा स्वीकार गरी बजेट प्रस्तुत गरेको बताए । उनले साधारण खर्च कटौतीको सुरुआत गर्ने बजेट ल्याएको पनि बताए । मैले अहिलेको अवस्थामा देखिएका समस्या के छन् ? राजस्वको स्थिति के छ ? वैदेशिक ऋण र सहायताको स्थिति के छ ? आन्तरिक ऋणको अवस्था के छ ? मौद्रिक नीतिले ल्याएका प्रभाव के छन् ? अर्थ नीतिले ल्याएका प्रभाव के छन् ? गत समयका सरकारहरूले गरेका निर्णयहरूको प्रभाव के कस्तो परेको छ ? कोभिडको के–कस्तो प्रभाव परेको छ ? उनले भने, त्यति मात्रै नभएर यो युक्रेन युद्धले ल्याएको बाह्य समस्याको कारणबाट नेपाली अर्थतन्त्र कसरी प्रभावित भएको छ ? यी तमाम कारणहरूले गर्दा हाम्रो अर्थतन्त्रमा के कस्ता प्रभावहरू परे ? त्यसले राजस्वमा के–कस्तो दबाब सिर्जना गर्यो ? त्यस्तै गरेर पुँजी प्रवाहमा अर्थतन्त्रमा तरलता दिनेमा के कस्ता समस्याहरू आए ? त्यसलाई मैले स्वीकार गरेर अगाडि बढेको छु ।
अर्थतन्त्र आफू अर्थमन्त्री भएलगत्तै सुधार भएको दाबी आफ्नो नरहेको पनि अर्थमन्त्री महतको भनाइ थियो । मैले यो भनेको छैन कि सम्पूर्ण चिज हामी आउनेबित्तिकै राम्रो भयो । यति छोटो समयमा राम्रो हुने कुरा पनि छैन । यी समस्याहरू एक–डेढ वर्षमा सिर्जित समस्या पनि होइनन् । धेरै पहिलेदेखि थपिँदै गएर थुप्रो लागेका समस्या हुन्, उनले भने, यी थुप्रो लागेको समस्यालाई हामीले एक धक्काले समस्या समाधान गर्छु र अगाडि बढ्छु भन्ने दाबी पनि मैले गरेको छैन ।
मन्त्री महतले नेपालको अर्थतन्त्रमा समस्या रहेको र आर्थिक वृद्धि कम भएको बताए । उनले राजस्व संकलन कम भएको र आन्तरिक ऋण लिइरहनुपरेको पनि बताए । वैदेशिक सहायतामा निर्भरता कम गर्न नसकिएको पनि उनको भनाइ थियो । यी सबै कुरालाई स्वीकार गरेर अगाडि बढेको र बढ्ने क्रममा अब हामीले चरणबद्ध रुपमा अप्ठ्याराहरूलाई हटाउने हो ।
समस्याको चाङ एकै पटकमा हटाउन सकिँदैन भन्ने स्वीकार गरेर नै मैले बजेट सुधारको प्रस्ताव राखेको छु । बजेट कार्यान्वयनको प्रस्ताव राखेको छु, उनले भने ।
बजेटमार्फत साधारण खर्च कटौतीको प्रस्ताव अगाडि सारिएको मन्त्री महतको भनाइ थियो ।